काठमाडौं । उद्योगदेखि खुद्रा बजारसम्म चामल र खानेतेलको मूल्य निरन्तर बढ्न थालेपछि उपभोक्ताको दैनिक भान्साको खर्च उल्लेख्य रूपमा बढेको छ। व्यवसायीका अनुसार पछिल्लो तीन महिनामै चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म बढेको छ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकेजी ८० रुपैयाँबाट बढेर १०० रुपैयाँ पुगेको छ भने त्रिशूली पोखरेली चामल ९५ रुपैयाँबाट १२० रुपैयाँ पुगेको छ। त्यस्तै, लङ्ग्रेन बासमती चामलको मूल्य १७५ रुपैयाँबाट १९० रुपैयाँ प्रतिकेजी पुगेको छ।
सङ्घका महासचिव अमुलकाजी तुलाधरले पछिल्लो समय थोक बजारमै चामलको मूल्य अस्वाभाविक रूपमा बढेको बताए। उनका अनुसार जेठ महिनाको सुरुदेखि नै मूल्य वृद्धि हुन थालेको हो।
नेपाल चामल, तेल तथा दाल उद्योग सङ्घले नेपाल चामलमा आयातमा निर्भर भएकाले भारतको नीतिगत परिवर्तन र अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा प्रत्यक्ष परेको जनाएको छ।
सङ्घका अनुसार भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, प्रतिकूल मौसमका कारण उत्पादनमा आएको कमी, धानको न्यूनतम समर्थन मूल्य बढाइनु तथा बङ्गलादेशका लागि ठूलो परिमाणमा चामल निर्यात खुला गरिएकाले बजारमा मूल्य बढेको हो। बङ्गलादेशले भारतबाट करिब ९ लाख मेट्रिक टन चामल आयात गर्ने तयारी गरेपछि क्षेत्रीय बजारमा माग बढेको व्यवसायीहरूको भनाइ छ।
साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार तीन महिनाअघि २५ केजी जिरा मसिनो चामल १ हजार ८०० रुपैयाँमा बिक्री हुँदै आएकोमा अहिले २ हजार ३३० रुपैयाँ पुगेको छ। त्यस्तै, सोना मन्सुली चामलको मूल्य प्रतिबोरा १ हजार ३५० रुपैयाँबाट १ हजार ७५० रुपैयाँ पुगेको छ भने २० केजी लङ्ग्रेन बासमतीको मूल्य ३ हजार ५०० रुपैयाँ कायम भएको छ।
व्यवसायीहरूका अनुसार बजारमा आर्थिक मन्दीका कारण उपभोक्ताले अत्यावश्यक वस्तुबाहेक अन्य सामग्री खरिद गर्न कम गरिरहेका छन्। तर दैनिक उपभोग्य खाद्यान्नकै मूल्य बढिरहेकाले सर्वसाधारण थप मारमा परेका छन्।
चामलसँगै खानेतेलको मूल्य पनि बढेको छ। नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला केही महिनामा खानेतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म बढेको हो।
असार १ गते ३५० रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरीको तेल साउनदेखि ३८० रुपैयाँ पुगेको छ। त्यस्तै, भुटेको तोरीको तेल ४३० रुपैयाँबाट बढेर ४६० रुपैयाँ प्रतिलिटर पुगेको छ । बजारमा भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य पनि प्रतिलिटर २९० रुपैयाँसम्म पुगेको सङ्घले जनाएको छ।
व्यवसायीहरूका अनुसार भारततर्फ खानेतेलको निर्यात बढ्नु, कच्चा पदार्थको मूल्य वृद्धि र आपूर्ति लागत बढ्नुका कारण नेपाली बजारमा पनि मूल्य निरन्तर उकालो लागेको हो। लगातारको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा खर्च थप महँगिएको छ।