काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले फेरि सास्ती व्यहोर्नुपरेको छ। नेपाल आयल निगमले ग्यासको आयात नियमित भइरहेको दाबी गरे पनि पछिल्लो एक सातादेखि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
ग्यास अभावका कारण विभिन्न डिलरमा बिहानैदेखि उपभोक्ताको लामो लाइन देखिएको छ। विशेषगरी नेपाल ग्यास, एचपी ग्यास र गीता ग्यासका सिलिन्डर बजारमा बढी अभाव भएको व्यवसायीहरू बताउँछन्।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यासको आयात नियमित भए पनि पूर्ण तौल (१४.२ केजी) का सिलिन्डर वितरण पुनः सुरु भएपछि माग एक्कासि बढेकाले अस्थायी अभाव देखिएको हो। उनले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तासँग आग्रह गर्दै केही दिनमै आपूर्ति सहज हुने दाबी गरे।
यसअघि फागुन २८ गतेदेखि ग्यास अभाव व्यवस्थापन गर्न निगमले आधा तौलका सिलिन्डर वितरण गरेको थियो। त्यसपछि असार ३० गतेदेखि पुनः पूर्ण तौलका सिलिन्डर वितरण सुरु गरिएको थियो।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले चार महिनासम्म आधा तौलका सिलिन्डर वितरण हुँदा धेरै सिलिन्डर बजारमा पुगेको र अहिले ती सिलिन्डर एकैपटक रिफिलका लागि फर्किएपछि माग अत्यधिक बढेको बताए। उनका अनुसार ग्यासको आयातमा समस्या नभएकाले एक सातादेखि १० दिनभित्र बजारको अवस्था सामान्य हुने अपेक्षा गरिएको छ।
नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले केही उद्योगले डिलरमार्फत वितरण नगरी रिफिलिङ प्लान्टबाटै बिक्री गरेकाले बजारमा ग्यासको अभाव झन् बढेको बताए। मागअनुसार डिलरलाई पर्याप्त ग्यास नपुग्दा उपभोक्ता मारमा परेको उनको भनाइ छ।
नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले तोकिएको कोटाअनुसार नियमित रूपमा ग्यास उपलब्ध गराइरहेको छ र आयातमा कुनै समस्या छैन।
निगमका तथ्याङ्कअनुसार चैतमा ३८ हजार मेट्रिक टन, वैशाखमा ३२ हजार मेट्रिक टन, जेठमा ३३ हजार मेट्रिक टन र असारमा ४४ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। साउन १५ गतेसम्म २६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ। सामान्य अवस्थामा नेपालमा मासिक ४५ हजारदेखि ५० हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गर्छ।
बजारमा करिब डेढ करोड ग्यास सिलिन्डर रहेको निगमले जनाएको छ। बढ्दो मागलाई ध्यानमा राख्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट सम्बन्धित उद्योगमार्फत नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर वितरण सुरु गरेको छ।
आइतबार टेकु कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटीमा पनि ग्यास लिन उपभोक्ताको लामो लाइन देखिएको थियो। हाल नेपालमा ५९ वटा ग्यास उद्योगले एलपी ग्यास आयात तथा वितरण गर्दै आएका छन्।