काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) पेस गर्ने कार्यसूची रहेको छ।
आजको बैठकको मुख्य आकर्षण नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनको सुनिश्चितता गर्न, उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको व्यवस्था मिलाउन तथा वास्तविक भूमिहीनलाई यथाशीघ्र लालपूर्जा वितरण गर्न सरकारसँग माग गरिएको छ।
उक्त प्रस्तावका समर्थक सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन्।
यसैबीच, आज संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ।
आजको संसदीय कार्यसूचीमा भूमिहीन तथा सुकुमवासीको पुनःस्थापना, नेपाल राष्ट्र बैंक ऐन संशोधन, पर्यटन विधेयक, ग्यास आपूर्ति व्यवस्थापन र विशेष सेवा ऐन संशोधनजस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने भएकाले संसद र संसदीय समितिहरूको गतिविधि विशेष चासोका साथ हेरिएको छ।