सुस्ता घटनाप्रति भारतसँग नेपालको कूटनीतिक विरोध, सीमा क्षेत्रमा अवस्था सामान्य

13.3k Shares

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीले स्थानीयले बाढी नियन्त्रणका लागि बनाएको अस्थायी माटोको तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग औपचारिक विरोध जनाएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाउँदै भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको घटनाप्रति आपत्ति जनाएको हो।

भारतीय पक्षले भने तटबन्ध निर्माण गरिएको क्षेत्र विवादित भएकाले नेपाल–भारतबीच कायम रहेको ‘यथास्थिति’ (स्टाटस क्वो) उल्लङ्घन हुने गरी कुनै नयाँ संरचना निर्माण गर्न नहुने आफ्नो अडान दोहोर्‍याएको जनाएको छ।

आइतबार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयवासीले विरोध गरेका थिए। केहीबेर तनाव उत्पन्न भए पनि नेपालका सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सीमा सुरक्षा बल (एसएसबी) बीच समन्वय भएपछि अवस्था सामान्य बनेको थियो।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार सोमबार सुस्ता क्षेत्रमा अवस्था सामान्य रहेको छ।

स्थायी तटबन्ध अझै अधुरो

नेपाल सरकारले नारायणी नदीको कटान रोक्न १३२ मिटर लामो स्थायी तटबन्ध निर्माणका लागि ठेक्का दिइसकेको छ। तर भारतीय पक्षको आपत्तिका कारण उक्त खण्डमा निर्माण कार्य अघि बढ्न सकेको छैन।

स्थानीय प्रशासनका अनुसार अन्य स्थानमा तटबन्ध निर्माण सम्पन्न भइसके पनि यही १३२ मिटर क्षेत्र बाँकी छ। तटबन्ध नहुँदा नारायणी नदीको कटान बढ्दै गएको र मनसुनमा बाढी बस्तीभित्र पस्ने जोखिम उच्च रहेको स्थानीयको गुनासो छ।

सुस्ता–कालापानी सीमा विवाद कायमै

सुस्ता र कालापानी नेपाल–भारतबीचका प्रमुख सीमा विवादित क्षेत्र हुन्। सन् २०१४ मा दुवै देशले परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति गरे पनि त्यसयता उच्चस्तरीय वार्ता हुन सकेको छैन।

पूर्वनापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार सन् १९८८ मा नेपाल र भारतले नारायणी नदीलाई ‘स्थिर सीमा’ (फिक्स्ड बाउन्ड्री) को सिद्धान्तअनुसार सीमा नदीका रूपमा स्वीकार गरेका थिए। तर पछिल्ला वर्षहरूमा नदीको धार परिवर्तन भएपछि सीमा निर्धारण र भूमि स्वामित्वका विषय थप जटिल बनेका छन्।

स्थानीयको माग : सुरक्षा र राज्यको उपस्थिति बढाउनुपर्ने

सुस्ता संरक्षण अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार स्थायी तटबन्ध निर्माणमा अवरोध भएपछि स्थानीयहरू बस्ती जोगाउन बाध्य भएर अस्थायी माटोको बाँध बनाउन पुगेका हुन्।

यसअघि दुई साताअघि सुस्ता संरक्षण अभियानका प्रतिनिधिहरू काठमाडौं आएर माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। उनीहरूले गृहमन्त्रीसँग भेट गरी सुस्तामा नेपाली सेनाको सुरक्षा चौकी स्थापना, भारतीय सुरक्षाकर्मीबाट हुने दुर्व्यवहार रोक्न तथा राज्यको उपस्थिति थप प्रभावकारी बनाउन माग गरेका थिए।

सम्बन्धित समाचार