काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका दुई वित्तीय संस्था नबिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ले अन्तर्राष्ट्रिय स्तरको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा ‘बेस्ट बैंक’ अवार्ड जितेका छन्।
भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स (ICC) ले नयाँदिल्लीमा आयोजना गरेको अवार्ड समारोहमा नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक’ तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ ‘बेस्ट बैंक’ को सम्मान प्राप्त गरेका हुन्।
शाइन रेसुङ्गाले यसपटक ‘बेस्ट डेभलपमेन्ट बैंक’ का साथै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी एकैपटक तीन विधामा अवार्ड जित्न सफल भएको छ।
अवार्डका लागि आईसीसीले नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाबाट आवेदन मागेको थियो। सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।
छनोट प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन प्राइसवाटरहाउसकूपर्स (PwC) का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले मूल्याङ्कन गरेको पनि जनाइएको छ।
यस उपलब्धिलाई नेपालको बैंकिङ क्षेत्रका लागि अन्तर्राष्ट्रिय मान्यता र विश्वासको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। विशेषगरी शाइन रेसुङ्गाले एकैपटक तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली विकास बैंकहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता र दिगो वृद्धिको प्रमाणका रूपमा विश्लेषण गरिएको छ।