एक घण्टामै ४२ वटा जीवलाई टोकेको कुकुरमा रेविज पुष्टि

1.2k Shares

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा करिब एक घण्टाको अवधिमा ४१ वटा जनावर र एक बालिकालाई टोकेर आतंक मच्चाएको शङ्कास्पद भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएसँगै जिल्लामा रेविज फैलिने जोखिम बढेको भन्दै स्थानीय तह र पशु स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

नगरपालिकाका अनुसार उक्त कुकुरले शनिबार साँझ फिदिम बजारका विभिन्न स्थानमा ४० वटा कुकुर र एक बालिकालाई टोकेको थियो। त्यसपछि आइतबार कुकुरलाई नियन्त्रणमा लिएर फिदिम–४ स्थित क्वारेन्टिनमा राखिए पनि त्यसले टिन काटेर बाहिर निस्कँदै स्थानीयको एउटा माउ भैँसीलाई समेत टोकेको थियो।

पुनः नियन्त्रणमा लिएर फिदिम–२ मा निर्माण गरिएको अर्को क्वारेन्टिनमा राखिएको कुकुर सोमबार मरेपछि गरिएको र्‍यापिड परीक्षणमा रेविज संक्रमण पुष्टि भएको फिदिम नगरपालिकाको पशु सेवा शाखाका प्रमुख नारायण थापाले जानकारी दिए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख निरजकुमार भट्टराईका अनुसार प्रारम्भिक र्‍यापिड परीक्षणमा रेविज पुष्टि भएको छ भने संक्रमणको थप पुष्टि गर्न नमुना पीसीआर परीक्षणका लागि पनि पठाइएको छ।

यसअघि पनि पाँचथरका विभिन्न स्थानीय तहमा रेविजको शङ्कामा गाई, गोरु, भैँसी तथा बाछा मर्ने घटना सार्वजनिक भइसकेका छन्। पछिल्ला दिनमा संक्रमित वा शङ्कास्पद कुकुरले टोकेका पशुहरू लगातार मर्न थालेपछि जिल्लामा रेविजको जोखिम थप बढेको पशु स्वास्थ्यकर्मीहरूको भनाइ छ।

जोखिम बढेसँगै प्रभावित तथा आसपासका स्थानीय तहमा विशेष निगरानी सुरु गरिएको छ। पशुमा अत्यधिक रिसाउने, जथाभावी टोक्ने, धेरै र्‍याल चुहाउने, पानीदेखि डराउने, खाना खान छाड्ने वा अस्वाभाविक व्यवहार देखिएमा तत्काल पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

स्वास्थ्यकर्मीले कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई तुरुन्तै साबुनपानीले राम्रोसँग धुने र ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर रेविजविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। रेविजको लक्षण देखिएपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप लगाउनु नै यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको उनीहरूको भनाइ छ।

स्थानीय तहले घरपालुवा कुकुरलाई खुला नछाड्न, नियमित रूपमा रेविजविरुद्धको खोप लगाउन तथा समय–समयमा स्वास्थ्य परीक्षण गराउन पनि पशुपालकलाई अनुरोध गरेका छन्। समुदायस्तरमा सचेतना, निगरानी र समयमै सूचना प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय सक्रिय भएका छन्।

सम्बन्धित समाचार