केही दिनमै एलपी ग्यास आपूर्ति सहज हुने, अनावश्यक सञ्चय नगर्न सरकारको आग्रह
2.5k
Shares
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार, बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग समन्वय गरी ग्यासको आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।
मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। साथै, नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण तथा वितरण प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउने सुधारका काम पनि अघि बढाइएको छ।
सरकारले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत गतिविधि सञ्चालन गर्ने वा उपभोक्तालाई अनावश्यक सास्ती दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।