चन्द्रमामा आज ठोक्किँदै स्पेसएक्सको ४ टनको रकेट टुक्रा

953 Shares

काठमाडौं । गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा परिक्रमा गरिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको दोस्रो चरण आज चन्द्रमाको सतहमा ठोक्किने भएको छ।

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सन् २०२५ जनवरीमा फायरफ्लाइ एयरोस्पेसको चन्द्र अवतरण यान प्रक्षेपण गर्दा प्रयोग गरेको फाल्कन–९ रकेटको करिब ४ मेट्रिक टन तौल भएको दोस्रो चरण नियन्त्रणबाहिर पुगेपछि अन्तरिक्षमै घुमिरहेको थियो। रोयटर्सका अनुसार उक्त रकेटको भाग बुधबार अमेरिकी पूर्वी समयअनुसार बिहान २:३५ बजे (नेपाली समयअनुसार दिउँसो) चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ।

वैज्ञानिकहरूका अनुसार रकेटको टुक्रा करिब ८ हजार ६९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्र सतहमा ठोक्किनेछ। ठक्करपछि ठूलो मात्रामा धुलो उड्ने अपेक्षा गरिएको छ। सूर्यको प्रकाशमा त्यो धुलो चम्किन सक्ने भए पनि पृथ्वीबाट नाङ्गो आँखाले हेर्न भने कठिन हुने बताइएको छ।

सामान्यतया रकेटको दोस्रो चरण आफ्नो काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरी जलेर नष्ट हुन्छ वा समुद्रमा खस्ने व्यवस्था मिलाइन्छ। तर चन्द्र अभियानका लागि आवश्यक अतिरिक्त वेगका कारण यो रकेटको भाग पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर निस्किएर अन्तरिक्षमै रह्यो। इन्धन सकिएपछि यसलाई नियन्त्रण गर्न सम्भव भएको थिएन।

खगोलविद्हरूले यस वर्षको सुरुवातमा मात्र यसको कक्षीय मार्ग विश्लेषण गर्दा चन्द्रमासँग ठोक्किने निश्चित भएको पत्ता लगाएका थिए। स्पेसएक्सकी अधिकारी जुलियाना स्किम्यानका अनुसार सूर्यको गतिविधि र गुरुत्वाकर्षणको प्रभावले यसको मार्ग परिवर्तन भई चन्द्रमातर्फ धकेलिएको हो।

खगोलविद् बिल ग्रेका अनुसार यो घटनाले वैज्ञानिक अध्ययनका लागि केही उपयोगी जानकारी दिन सक्ने भए पनि मानिस वा हाल सञ्चालनमा रहेका अन्तरिक्ष अभियानलाई तत्काल कुनै जोखिम छैन। यद्यपि, उनले भविष्यका चन्द्र अभियानलाई ध्यानमा राख्दै अन्तरिक्ष फोहोरको व्यवस्थापनलाई थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

चन्द्रमामा अन्तरिक्ष फोहोर ठोक्किने घटना दुर्लभ मानिन्छ। सन् २०२२ मा चिनियाँ रकेटको एउटा भाग चन्द्रमामा खसेको थियो भने सन् २००९ मा नासाले वैज्ञानिक अनुसन्धानका लागि जानाजानी एउटा रकेटको भाग चन्द्रमामा ठोक्काएको थियो।

यसअघि पनि केही चन्द्र अभियान दुर्घटनाग्रस्त भएका छन्। सन् २०२३ मा रुसको लुना–२५, सन् २०१९ मा भारतको चन्द्रयान–२ र इजरायलको बेरेशिट अवतरण यान चन्द्र सतहमा सफल अवतरण गर्न नसकी दुर्घटनाग्रस्त भएका थिए।

नासाले आगामी दशकमा आर्टेमिस कार्यक्रम अन्तर्गत चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति स्थापना गर्ने योजना अघि बढाइरहेकाले भविष्यका संरचना र अभियानलाई अन्तरिक्ष फोहोरबाट सुरक्षित राख्ने उपायबारे नासा, स्पेसएक्स तथा अन्य अन्तरिक्ष निकायबीच छलफल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार