चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ। आज बिहान ७ः०५ बजे चितवनको उक्त सडकखण्डमा पहिरो खसेपछि केही समय यातायात अवरुद्ध भएको थियो। डिभिजन सडक कार्यालयको टोलीले पहिरो हटाएसँगै अहिले सडकमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।
वर्षायामका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा बेला–बेलामा पहिरो खस्ने क्रम जारी रहेकाले अत्यावश्यक बाहेकको यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सडक प्रशासनले आग्रह गरेको छ। (रासस)