नेप्से सामान्य सुधार, परिसूचक ४.७९ अंकले बढ्यो

1.2k Shares

काठमाडौं । धितोपत्र बजारमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से ४.७९ अंकले उकालो लाग्दै २,६६७.९७ बिन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६० अंकले बढेर ४६७.३६ बिन्दुमा पुगेको छ।यद्यपि, फ्लोट परिसूचक ०.०३ अंकले घटेर १८३.२९ बिन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक ०.३० अंकले घटेर १५८.२६ बिन्दुमा सीमित भएको छ।

आज बजारमा एक करोड ६७ हजार ७३२ कित्ता शेयर रु ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ बराबरमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढ्दा आठ उपसमूहमा गिरावट आएको छ। आज १२२ कम्पनीको शेयर मूल्य बढेको, १४३ कम्पनीको घटेको तथा ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।

त्यसैगरी, एभरेष्ट कलर लिमिटेड, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।

सम्बन्धित समाचार