नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’को सफल परीक्षण

1k Shares

काठमाडौं । नेपालमै विकास गरिएको बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ को सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले विकास गरेको उक्त प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायत विभिन्न विपद्का बेला समुदायलाई समयमै चेतावनी सूचना दिन सक्ने जनाएको छ।

कम्पनीका डिजाइनकर्ता तथा कार्यकारी अध्यक्ष इन्जिनियर अनुप खनालका अनुसार मानिसको आवाजको नक्कल गर्न सक्ने र स्वचालित रूपमा सूचना प्रवाह गर्ने विशेषता भएकाले यस प्रणालीको नाम ‘मैना’ राखिएको हो।

यो प्रणालीमार्फत एसएमएस, इन्टरनेट, स्याटेलाइट नेटवर्क तथा वायरलेस रिमोट कन्ट्रोलमार्फत तत्काल चेतावनी सन्देश पठाउन सकिन्छ। साथै, विभिन्न स्थानीय भाषामा पूर्वरेकर्ड वा प्रत्यक्ष (लाइभ) आवाजमार्फत पनि सूचना प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

ठूलो वर्षा, बाढी वा अन्य विपद्को जोखिम देखिएमा सेन्सरबाट प्राप्त वास्तविक समय (रियल–टाइम) सूचनाका आधारमा प्रणालीले स्वचालित रूपमा साइरन बजाएर चेतावनी दिन्छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने यस प्रणालीका सबै उपकरणको अवस्था केन्द्रबाटै अनुगमन गर्न सकिने भएकाले स्थानीय तह, जलविद्युत् आयोजना, उद्योग तथा विपद् व्यवस्थापन निकायका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जलवायु परिवर्तनका कारण नेपालमा बहुप्रकोपको जोखिम बढ्दै गएकाले यस्ता आधुनिक पूर्वसूचना प्रणालीको आवश्यकता दिनप्रतिदिन बढिरहेको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गोकर्ण पन्थले यस्ता प्रविधिको प्रभावकारी प्रयोगबाट जलविद्युत् आयोजना तथा बस्तीमा हुने जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने धारणा व्यक्त गरे।

सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल (एन–सीडीएमसी) का अध्यक्ष श्यामबाबु कट्टेलले विपद् रोक्न नसकिए पनि समयमै सूचना पुगे जनधनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने भन्दै यस्ता आधुनिक पूर्वसूचना प्रणालीको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार