आज पनि देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने चेतावनी

5.6k Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले देशभर मौसममा बदलीको अवस्था कायम रहनेछ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने बताइएको छ।

महाशाखाले निरन्तरको वर्षासँगै नदी तथा खोलामा पानीको सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने चेतावनी दिएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

सम्बन्धित समाचार