तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य
1.5k
Shares
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य रहेको स्मरण गराउँदै सम्बन्धित फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।
विभागले सार्वजनिक सूचनाअनुसार राजपत्रमा प्रकाशित व्यवस्थाबमोजिम महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्नेछ।
इच्छुक फर्म, कम्पनी तथा संस्थाले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। इजाजतपत्र प्राप्त गर्न कारोबारको परिमाणअनुसार दस्तुरसमेत तोकिएको विभागले जनाएको छ।
विभागका अनुसार एकपटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। यस्तै, पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेस गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त नगरेका फर्म, कम्पनी तथा संस्थाले पनि नयाँ सूचनाबमोजिम पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
विभागले अनलाइन आवेदनसँगै अपलोड गरिएका कागजातको एक–एक प्रति छापेर विभागमा बुझाउनुपर्ने व्यवस्था पनि गरेको जनाएको छ।
यस्तै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको प्रमाणपत्र समेत पेस गर्नुपर्ने विभागले जनाएको छ।
विभागका अनुसार घरजग्गा कारोबारलाई थप व्यवस्थित, पारदर्शी र नियमनमुखी बनाउन इजाजतपत्रसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।