‘हेलो सरकार’ अब एकीकृत सेवा व्यवस्थापन प्रणाली बन्ने

1.4k Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई स्तरोन्नति गर्दै नागरिकका गुनासा र सुझाव व्यवस्थापनका लागि एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ।

यसबाट फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ।

sarkar.jpe

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि प्रस्तुत गरिएको छ।

प्रस्तावित प्रणालीअनुसार सेवाग्राहीले सम्बन्धित कार्यालयमा सिधै हेलो सरकारमार्फत गुनासो दर्ता गर्न र त्यसको प्रगतिबारे जानकारी लिन सक्नेछन्। सम्बन्धित कार्यालयमा सिधै गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउने व्यवस्था पनि गरिनेछ।

0ea5ac74-7415-494a-b996-50096384d079.jpg

सरकारी कल सेन्टरहरूलाई समेत अन्तरआबद्ध गर्ने योजना रहेको छ। निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको प्रकृतिअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाइने व्यवस्था गरिनेछ। सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा उक्त गुनासो पुनः हेलो सरकारमै फर्कने व्यवस्था प्रस्ताव गरिएको छ।

यस प्रणाली लागू भएपछि नागरिकले एउटै विषयमा पटक–पटक विभिन्न कार्यालयमा धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, सेवाग्राहीले यसअघि गरेका गुनासो, तिनको अवस्था तथा प्रगतिसम्बन्धी विवरण पनि एउटै प्रणालीबाट हेर्न सक्ने व्यवस्था गरिनेछ। एउटै व्यक्तिले एउटै विषयमा बारम्बार गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गरिने प्रस्ताव पनि गरिएको छ।

गुनासो समाधानका लागि समयसीमा प्रस्ताव

प्रस्तावित व्यवस्थाअनुसार गुनासो सुनुवाइका लागि स्पष्ट समयसीमा तोकिनेछ। अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

गुनासो समाधान भएपछि प्रणालीमार्फत सेवाग्राहीलाई जानकारी दिइनेछ। त्यसपछि सेवाग्राहीबाट समस्या समाधान भएको वा नभएकोबारे पृष्ठपोषण प्राप्त भएपछि मात्रै गुनासो फर्स्योट भएको मानिने व्यवस्था गरिनेछ।

एक वर्षमै ३२१ प्रतिशतले बढे गुनासो

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशत बढी गुनासो दर्ता भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासो प्राप्त भएकामा गत आर्थिक वर्ष यो संख्या बढेर ६९ हजार ७२४ पुगेको छ। अर्थात् एक वर्षमै ५३ हजार १५६ थप गुनासो दर्ता भएका छन्।

उपसचिव सापकोटाले वर्तमान सरकार गठनपछि गुनासो उल्लेख्य रूपमा बढेको उल्लेख गर्दै यसलाई सरकारप्रतिको नागरिकको विश्वास र अपेक्षाको संकेतका रूपमा व्याख्या गरेका छन्।

तीन महिनामा ३९ हजारभन्दा बढी गुनासो समाधान

कार्यालयका अनुसार पछिल्ला करिब तीन महिनामा ५० हजार ७२१ गुनासो दर्ता भएका छन्। तीमध्ये ३९ हजार १७७ गुनासो समाधान गरिएको छ।

त्यसमध्ये १८ हजार ५४२ गुनासो पूर्ण रूपमा फर्स्योट भएका छन् भने ५४७ गुनासो अझै हेरिएको छैन। यस्तै १ हजार ६४२ गुनासो हेरिएका, १ हजार ३२७ प्रक्रियामा रहेका, ६ हजार ५६ पूर्ण तोकिए पनि नहेरिएका तथा २ हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका अवस्थामा रहेको हेलो सरकार शाखाले जनाएको छ । चालु आर्थिक वर्षमा मात्रै साउन १ देखि १८ गतेसम्म ९ हजार ६१० गुनासो हेलो सरकारमा दर्ता भइसकेका छन्।

 
 
सम्बन्धित समाचार