संसद् बैठकमा ‘डार्क चस्मा’ र सेयर कारोबारमा रोक, सांसदका लागि नयाँ आचारसंहिता लागू
904
Shares
काठमाडौं । संघीय संसद् सचिवालयले सांसदहरूको आचरणलाई थप मर्यादित र व्यवस्थित बनाउन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि नयाँ आचारसंहिता लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार संसद् बैठकका क्रममा गाढा (डार्क) रङका चस्मा लगाउन र मोबाइल वा अन्य विद्युतीय उपकरणमार्फत सेयर कारोबार गर्न रोक लगाइएको छ।
आचारसंहितामा संसद् बैठक चलिरहेका बेला सांसदहरूले अत्यावश्यक कामबाहेक मोबाइल फोन वा अन्य विद्युतीय उपकरणको प्रयोग नगर्नुपर्ने उल्लेख गरिएको छ। विशेषगरी बैठककै समयमा सेयर खरिद–बिक्री, व्यक्तिगत व्यापारिक गतिविधि वा अन्य असम्बन्धित कार्य गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै, बैठकको मर्यादा कायम राख्न सभाभित्र गाढा रङका चस्मा लगाउन नहुने, सभाध्यक्षको निर्देशन पालना गर्नुपर्ने, बोल्ने क्रममा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्ने तथा अन्य सदस्यको अभिव्यक्तिमा अनावश्यक अवरोध गर्न नहुने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ।
सचिवालयले संसद्को गरिमा, अनुशासन र सार्वजनिक विश्वासलाई थप मजबुत बनाउन आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाएको छ। नयाँ व्यवस्थापछि सांसदहरूको संसदीय गतिविधिलाई थप जिम्मेवार र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।