काठमाडौं । सविन तामाङ र रोहित क्षेत्री प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित काठमाडौं खेलमण्डलको भवनमा बिहीबार सम्पन्न सेमिफाइनलमा सविनले नेपालका नम्बर एक खेलाडी वाङचू तामाङलाई ५–४ को रोमाञ्चक सेटमा पराजित गर्दै उपाधि नजिक पुगे। बेस्ट अफ नाइन ढाँचामा भएको खेल निर्णायक सेटसम्म पुगेको थियो।
अर्को सेमिफाइनलमा रोहित क्षेत्रीले राजन गुरुङलाई ५–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। अब शनिबार हुने उपाधि भिडन्तमा सविन र रोहित आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी पाउनेछन्। सेमिफाइनलमा पुगेका दुवै खेलाडीलाई जनही २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
यसैगरी प्रतियोगितामा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ तथा ८० अंकभन्दा बढीको उच्चतम ब्रेक बनाउने खेलाडीलाई २० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।