काठमाडौं । नेपालमा पहिलो पटक ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आयोजना हुने भएको छ।
आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फेस्टमा घर निर्माणसम्बन्धी सामग्री, प्रविधि र सेवाको प्रदर्शनीसँगै डिजिटल माध्यमबाट समेत जानकारी तथा प्रचारप्रसार गर्ने व्यवस्था मिलाइने भएको छ।
डिजिटल फेस्टका लागि भृकुटीमण्डपमै छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिने आयोजकले जनाएको छ। उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवासम्बन्धी सामग्री प्रस्तुत गर्न सक्नेछन्।
आयोजकका अनुसार स्टुडियोबाट तयार गरिएका सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यसले काठमाडौं बाहिर रहेका अवलोकनकर्ता तथा अन्तर्राष्ट्रिय दर्शकलाई समेत फेस्टसँग जोड्ने अपेक्षा गरिएको छ।
प्रविधिको बढ्दो प्रयोग, सामाजिक सञ्जाल र कन्टेन्ट मार्केटिङको परिवर्तनशील स्वरूपलाई मध्यनजर गर्दै यस वर्षको फेस्टलाई डिजिटल माध्यमसँग जोडिएको आयोजकले जनाएको छ। यसबाट नेपाली निर्माण क्षेत्रका उत्पादन र सेवाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
गत वर्ष १५० वटा स्टल राखिएकोमा यसपटक २०० भन्दा बढी स्टल राख्ने तयारी गरिएको छ। आयोजकका अनुसार हालसम्म स्टल बुकिङको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ।
नयाँ स्वरूपमा आयोजना हुन लागेको फेस्टमा दर्शक संख्या र कारोबार दुवै बढ्ने अपेक्षा गरिएको छ। आयोजकले यसपटक कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा बढी पुर्याउने लक्ष्य राखेको जनाएको छ।
घर निर्माण फाउन्डेसनका अनुसार गत वर्ष आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ मा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। उक्त प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहेका थिए भने सहभागी व्यवसायीहरूले करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका थिए।
यस वर्षको फेस्टमा घर बनाउने योजना भएका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा निर्माण क्षेत्रका सरोकारवालालाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार नेपालमा निर्माण क्षेत्र विस्तार हुँदै गए पनि धेरै ब्रान्डले आफ्ना उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजार प्रवर्द्धनमा चुनौती भोगिरहेका छन्। यिनै चुनौती समाधान गर्ने उद्देश्यसहित राष्ट्रिय घर निर्माण फेस्ट आयोजना गर्न लागिएको हो। ट्राइनोक्स ग्लोबलले फेस्टमा सहकार्य गरेको आयोजकले जनाएको छ।