‘समय लाग्ला, तर निर्णय गलत हुँदैन’ : प्रधानमन्त्री शाह

918 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले अघि सारेका कामको परिणाम आउन केही समय लाग्न सक्ने बताएका छन् । उनले ढिला भए पनि गलत निर्णय नहुने भन्दै आमनागरिकलाई नआत्तिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सही समय आउन केही समय लाग्ने बताएका हुन् । उनले सरकारका काम र निर्णयलाई बाहिरबाट देखिएजस्तो मात्रै बुझ्न नहुने संकेतसमेत गरेका छन् ।

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,’ शाहले लेखेका छन् ।

उनले कतिपय अवस्थामा आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गरेका छन् । साथै, कठिन परिस्थितिमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने र आफू यसका लागि नयाँ नभएको बताएका छन् ।

‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

प्रधानमन्त्रीको यो अभिव्यक्ति पछिल्लो समय सरकारका गतिविधि, निर्णय र राजनीतिक परिस्थितिबारे विभिन्न कोणबाट चर्चा भइरहेका बेला आएको हो । यद्यपि, उनले आफ्नो सन्देशमा कुन विषय वा घटनालाई लक्षित गरेर यस्तो धारणा सार्वजनिक गरेका हुन् भन्ने स्पष्ट खुलाएका छैनन् ।

उनको सन्देशमा भने सरकारले अघि सारेका कामको परिणाम तत्काल नदेखिए पनि त्यसलाई लिएर आत्तिन नहुने र समयसँगै वास्तविकता स्पष्ट हुने आशय देखिन्छ ।

balen shah.jpe

सम्बन्धित समाचार