काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौंदेखि बन्द रहेका तथा घाटामा सञ्चालन हुँदै आएका राष्ट्रिय उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गर्नुभएको छ ।
सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिएको प्रधानमन्त्री शाहको भनाइ छ ।

प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै कानुनको प्रभावकारी कार्यान्वयन र टिमवर्कलाई प्राथमिकता दिए चुनौतीपूर्ण अवस्थामा रहेका उद्योग तथा संस्थानलाई समेत पुनर्जीवित गर्न सकिने बताउनुभएको छ ।
उहाँले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा भएका सुधारलाई सरकारी संस्थान सुधारका उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।
प्रधानमन्त्री शाहका अनुसार लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधिको बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले तीन करोड रुपैयाँ नाफा आर्जन गरेको उहाँको दाबी छ ।
चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ ।
सोही लक्ष्यअनुसार यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने योजना रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । हाल लिमिटेडबाट ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।
वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । उद्योगका तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।
परीक्षण उत्पादनपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।
प्रधानमन्त्री शाहले नेपाल वायुसेवा निगमको वित्तीय अवस्थामा समेत सुधार देखिएको बताउनुभएको छ । उहाँका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो । सो अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी रहेको बताइएको छ ।
यसै अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणबापत एक अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।
दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहको भनाइ छ । यसअघि आठ महिनासम्म रहेको भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको र बक्यौता रकम ७२ करोड रुपैयाँबाट ३५ करोड रुपैयाँमा ल्याइएको उहाँले बताउनुभएको छ ।
किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट ९० लाख रुपैयाँ पुगेको दाबी गरिएको छ ।
कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब तीन करोड रुपैयाँ बचत गरिएको बताइएको छ ।
डीडीसीले चाँडै खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरेको छ । नगरकोट केन्द्रबाट चिज उत्पादनसमेत पुनः सुरु गर्ने तयारी भइरहेको जनाइएको छ ।
सिंहदरबार वैद्यखाना विकास समितिमा पनि उत्पादन तथा कारोबारमा सुधार आएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरका आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको उहाँको दाबी छ ।
गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी रहेको बताइएको छ ।
हाल निःशुल्क वितरण गरिने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको छ । वैद्यखानाबाट हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमा यो संख्या १५० पुर्याउने लक्ष्य राखिएको छ ।
चालु आर्थिक वर्षमा पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने, जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्नेलगायतका योजना अघि बढाइएको छ ।
प्रधानमन्त्री शाहले इमान्दारिता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र देशप्रतिको समर्पण कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानलाई समेत नयाँ जीवन दिन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले उत्पादन बढाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको अभियानमा सबैको रचनात्मक साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।