५ किलोसम्म पुस्तक पठाउने ‘बुक पोस्ट’ सेवा बन्द भएको छैन : सञ्चारमन्त्री
799
Shares
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगतबहादुर तिमिल्सिनाले हुलाकमार्फत ५ किलोसम्मका पुस्तक पठाउने ‘बुक पोस्ट’ सेवा बन्द नगरिएको स्पष्ट पारेका छन्।
पछिल्लो समय हुलाक कार्यालयबाट पुस्तक पठाउने सेवा बन्द भएको भन्ने विषयमा चर्चा भएपछि मन्त्री तिमिल्सिनाले सेवा निरन्तर सञ्चालनमा रहेको बताएका हुन्।
उनका अनुसार हुलाक सेवामार्फत पुस्तक तथा शैक्षिक सामग्री पठाउने सेवामा कुनै रोक लगाइएको छैन। सेवाग्राहीले तोकिएको प्रक्रियाअनुसार ५ किलोसम्मका पुस्तक हुलाकबाट पठाउन सक्नेछन्।
मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई समयअनुकूल, प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सुधारका काम अघि बढिरहेको पनि बताएका छन्।
पछिल्लो समय सरकारले परम्परागत हुलाक सेवालाई डिजिटल प्रविधिसँग जोड्दै सेवा विस्तार तथा आधुनिकीकरणमा जोड दिइरहेको छ। पुस्तक तथा शैक्षिक सामग्री पठाउने ‘बुक पोस्ट’ सेवा विद्यार्थी, शिक्षक, लेखक तथा प्रकाशकका लागि उपयोगी मानिन्छ। मन्त्रीको स्पष्टीकरणसँगै ५ किलोसम्म पुस्तक पठाउने सेवा बन्द भएको भन्ने अन्योल हटेको छ।