एलपी ग्यासको अभाव हट्दै, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी

1.2k Shares

काठमाडौं । उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हट्दै जान थालेको नेपाल आयल निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट आयातको परिमाण बढ्नुका साथै वितरण प्रक्रिया सहज पारिएपछि बजारमा ग्यासको आपूर्ति क्रमशः सामान्य बन्दै गएको निगमको भनाइ छ ।

गत असार ३१ गतेदेखि निगमले साविककै १४.२ किलोग्रामको पूर्ण सिलिन्डर बिक्री खुला गरेपछि बजारमा एक्कासि माग बढ्दा अभाव देखिएको थियो ।

निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार ७.१ किलोग्रामको आधा सिलिन्डरबाट पुनः पूर्ण सिलिन्डरमा फर्काउँदा सुरुका दिनमा केही चाप परेको भए पनि अहिले आपूर्ति सामान्य हुँदै गएको छ ।

‘अहिले पनि आईओसीको रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट लोडिङ भइरहेका छन् । बढीमा एक साताभित्र ग्यासको बिक्री वितरण पूर्ण रूपमा सहज हुन्छ,’ उपाध्यायले भने । उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरे ।

पश्चिम एसियामा देखिएको द्वन्द्व र सम्भावित आपूर्ति सङ्कटलाई ध्यानमा राख्दै निगमले गत फागुन २९ गतेदेखि आधा अर्थात् ७.१ किलोग्रामको सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था गरेको थियो । तर आधा सिलिन्डर उपभोक्ताले खासै नरुचाएको र पूर्ण सिलिन्डर पाइने आशामा उपभोक्ताले ग्यास सञ्चित गर्दा पूर्ण सिलिन्डर बिक्री खुला भएपछि माग एकाएक बढेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बताए ।

ग्यास आयातमा वृद्धि

निगमको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा भने करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ ।

चालु महिनाको २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास भित्रिसकेको निगमले जनाएको छ ।

आउँदा ठूला चाडपर्वलाई लक्षित गर्दै तीन महिनाका लागि ग्यासको कोटा बढाउन सरकारले भारतसँग कूटनीतिक पहलसमेत गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले जानकारी दिइन् ।

नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ ।

मन्त्रीद्वारा अनुगमन, ५ सयभन्दा बढी गुनासो सम्बोधन

ग्यास वितरणलाई सहज बनाउन उद्योगमन्त्री यादवसहित निगमका उच्च अधिकारीले बजार अनुगमनलाई तीव्र बनाएका छन् । शनिबार मन्त्री यादव नेतृत्वको टोलीले बालाजुस्थित नेपाल ग्यास उद्योग तथा टेकुस्थित विभिन्न ग्यास बिक्री केन्द्रको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा बजारमा कृत्रिम अभाव वा कालोबजारी गरेको अवस्था फेला नपरेको निगमले जनाएको छ ।

ग्यास नपाएका उपभोक्ताको समस्या तत्काल समाधान गर्न निगमले गठन गरेको ‘क्विक रेस्पोन्स टिम’ ले हालसम्म ५ सयभन्दा बढी गुनासो सम्बोधन गरिसकेको जनाएको छ ।

निगमले आयात तथा वितरण प्रणालीमा सुधार भइरहेको भन्दै आगामी केही दिनमै बजारमा ग्यासको आपूर्ति पूर्ण रूपमा सहज हुने दाबी गरेको छ ।

सम्बन्धित समाचार