खोटाङ । लेदोसहित झरेको पहिरोले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको बाँझोगराका धानखेत बगरमा परिणत भएका छन् । सडकबाट झरेको गेग्रान र लेदोसहितको पहिरोले १३७ मुरी धान फल्ने खेत पुरिएपछि किसान मर्कामा परेका छन् ।
जालपा–फेदी–ऐसेलुखर्क सडकअन्तर्गत खरबारीबाट झरेको लेदो साउने खोल्सी हुँदै खेतमा पस्दा गोडमेल गर्ने बेलाको धान गेगर र बालुवाले पुरिएको हो । रावा खोला किनारमा रहेको विभिन्न किसानका खेत बाढीले बगरमा परिणत गरेको स्थानीयले बताएका छन् ।
गत जेठमा रोपिएको धान गोडमेल गर्ने समयमा बाढी आएर खेत पुरेपछि किसानको मेहनत खेर गएको छ । स्थानीयका अनुसार विगतमा साउने खोल्सीमा यसरी बाढी आउने गरेको थिएन । तर यसपटक सडकबाट झरेको पहिरो खोल्सीमा मिसिएपछि त्यसको लेदो र गेग्रान खेतसम्म पुगेको हो ।
बाढीपहिरोले धानखेत मात्र नभई दिक्तेल–ऐसेलुखर्क सडकमा समेत क्षति पुर्याएको छ । रावाखोला–तापखोला मुहानबाट बाँझोगरा खेतसम्म लगिएको सिम्ले कुलो तथा साउने खोल्साबाट पिखुमको ठूलो खेततर्फ लगिएको कुलोसमेत बगाएको छ ।
खेत पुरिँदा अधियाँमा खेती गरिरहेका किसान अझ बढी प्रभावित भएका छन् । मेहनत गरेर रोपेको धान खेतमै पुरिएपछि वर्षभरको आम्दानी गुम्ने अवस्था आएको उनीहरूको गुनासो छ । किसानले साउने खोल्सी व्यवस्थापन गरी आगामी दिनमा खेतमा क्षति नहुने व्यवस्था गर्न माग गरेका छन् ।
यसअघि क्षतिग्रस्त सडक तथा कुलो मर्मतका लागि ऐसेलुखर्क गाउँपालिकाका पूर्वअध्यक्ष विश्वनाथ निरौलाले साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । तर हालसम्म माग सम्बोधन नभएको उनले बताएका छन् ।