काठमाडौँ । बजारमा एलपी ग्यासको अभाव भइरहेका बेला उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम प्रभावकारी बन्दै गएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा स्थापना गरिएको टिमले ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल समाधानका लागि सम्बन्धित उद्योग तथा विक्रेतासँग समन्वय गर्दै आएको छ ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा स्थापना गरिएको टिममा निगमका कर्मचारी तथा ग्यास उद्योगीका प्रतिनिधि सहभागी छन् । उनीहरूले फोनमार्फत उपभोक्ताका गुनासा सुन्ने, समस्या पहिचान गर्ने र नजिकका ग्यास उद्योग तथा डिलरसँग समन्वय गरी ग्यास उपलब्ध गराउने काम गरिरहेका छन् ।
निगमका अनुसार पछिल्लो समय दैनिक तीन सयदेखि चार सयभन्दा बढी गुनासा आउने गरेका छन् । शनिबारसमेत टिम सक्रिय रहेर उपभोक्ताका समस्या समाधान गरिरहेको निगमले जनाएको छ ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार विशेषगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाले ग्यास नपाएको गुनासो गर्ने गरेका छन् । यस्ता गुनासा आएपछि नजिकका उद्योग तथा डिलरलाई सम्पर्क गरी ग्यास उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए ।
डिलरमा ग्यास नआएको, आए पनि उपभोक्ताले सहज रूपमा नपाएको लगायतका समस्या पनि ‘क्विक रेस्पोन्स’ टिममा आउने गरेका छन् । गुनासा प्राप्त भएपछि सम्बन्धित उद्योग तथा विक्रेतासँग समन्वय गरी आवश्यकताअनुसार आपूर्ति व्यवस्थापन मिलाउने गरिएको सङ्घले जनाएको छ ।
पछिल्लो समय बजारमा ग्यासको माग उच्च रहेकाले अभाव देखिएको निगमको भनाइ छ । ग्यास आयात नियमित रहे पनि मागअनुसार तत्काल आपूर्ति गर्न कठिनाइ हुँदा कतिपय स्थानमा उपभोक्ताले समस्या भोगिरहेका छन् ।
पश्चिम एसियामा भएको युद्धको प्रभावका कारण ग्यास आपूर्ति प्रभावित भएपछि गत फागुन २८ गतेदेखि सरकारले आधा तौल अर्थात् ७.१ केजीको सिलिन्डर वितरण गर्दै आएको थियो । तर, गत असार ३१ गतेदेखि पूर्ण तौल अर्थात् १४.२ केजीको सिलिन्डर वितरण पुनः सुरु गरेपछि बजारमा माग बढ्दा अभाव देखिन थालेको हो ।