सामाजिक सद्भावका लागि देवानगञ्जमा सहमति, धार्मिक झण्डा हटाइने

1.2k Shares

देवानगञ्ज क्षेत्रमा देखिएको तनावपछि स्थानीय प्रशासन, जनप्रतिनिधि तथा दुवै पक्षका प्रतिनिधिबीच छलफल भएको छ। छलफलपछि धार्मिक सद्भाव कायम राख्न सार्वजनिक स्थानमा राखिएका धार्मिक झण्डा हटाउने तथा डिजे र माइकको प्रयोगमा कडाइ गर्ने सहमति भएको छ।

तनावको अवस्था थप नबढोस् र समुदायबीचको सामाजिक तथा धार्मिक सद्भाव कायम रहोस् भन्ने उद्देश्यले यस्तो सहमति गरिएको बताइएको छ। छलफलमा धार्मिक तथा सामाजिक गतिविधिका क्रममा एकअर्काको भावनामा असर पर्ने गतिविधि नगर्ने र सार्वजनिक स्थानमा कुनै पनि किसिमका विवाद उत्पन्न हुने अवस्था सिर्जना नगर्ने विषयमा पनि जोड दिइएको छ।

स्थानीय प्रशासनले सार्वजनिक शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै डिजे तथा माइकको प्रयोग गर्दा प्रचलित कानुन र प्रशासनले तोकेको मापदण्ड पालना गर्न आग्रह गरेको छ। अनुमति नलिई वा तोकिएको समय तथा सीमाभन्दा बाहिर ध्वनि विस्तारक उपकरण प्रयोग नगर्नसमेत सचेत गराइएको छ।

घटनापछि सम्भावित विवाद रोक्न सुरक्षा सतर्कता बढाइएको छ। स्थानीय बासिन्दालाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न र कुनै पनि अफवाहको पछि नलाग्न आग्रह गरिएको छ।

सम्बन्धित पक्षहरूले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै देवानगञ्ज क्षेत्रमा उत्पन्न तनाव क्रमशः सामान्य बन्दै गएको जनाइएको छ। प्रशासनले सहमति विपरीतका गतिविधि भएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ।

सम्बन्धित समाचार