आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

1.4k Shares

न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ । मधेश प्रदेश तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

भारी वर्षाका कारण ती क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा अवरोध हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार