ग्यास अभाव हटाउन आईओसीसँग थप ५ हजार मेट्रिक टन माग

1k Shares

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतलगायत क्षेत्रमा देखिएको ग्यास अभाव समाधान गर्न नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)सँग थप ग्यास माग गरेको छ ।

निगमले विगतमा ४९ हजार ५०० मेट्रिक टनसम्म ग्यास माग गर्दै आएकोमा यसपटक ६० हजार मेट्रिक टन माग गरेको र आईओसीले ५५ हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

आइतबार सुर्खेतमा आयोजित सर्वपक्षीय बैठकमा ठाकुरले थप ग्यास आएपछि देशभर देखिएको अभाव कम हुने दाबी गरे । उनका अनुसार असारदेखि ग्यासको माग अत्यधिक बढेपछि आपूर्तिमा दबाब परेको हो ।

निगमका अनुसार फागुनमा ३१ हजार, चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन ग्यास आपूर्ति भएको थियो । असारमा भने ४४ हजार ५०० मेट्रिक टन ग्यास आपूर्ति भएको थियो । मागको तुलनामा आपूर्ति कम हुँदा बजारमा अभाव देखिएको निगमको भनाइ छ ।

नेपालमा ग्यास ढुवानी गर्ने करिब ६५० वटा बुलेट भारतीय रहेकाले पनि आपूर्ति व्यवस्थापनमा चुनौती रहेको ठाकुरले बताए । यसअघि लागू गरिएको आधा सिलिन्डर वितरण प्रणालीले समेत समस्या थप जटिल बनाएको उनको भनाइ छ ।

निगमले आईओसीसँग थप ग्यास माग गरेकाले आपूर्ति भने जारी रहेको जनाएको छ । प्रवक्ता ठाकुरले ग्यास अभाव हुने हल्लाको पछि नलाग्न र अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न उपभोक्तालाई आग्रह गरेका छन् ।

२३ दिनमा सुर्खेतमा ४१ हजारभन्दा बढी सिलिन्डर वितरण

नेपाल आयल निगमका अनुसार साउन १ देखि २३ गतेसम्म सुर्खेतमा ४१ हजार ५१७ सिलिन्डर ग्यास वितरण गरिएको छ ।

निगम सुर्खेतका प्रमुख दीपक घिमिरेले ४१ हजारभन्दा बढी सिलिन्डर बजारमा पठाउँदा पनि उपभोक्ताको लाइन घट्न नसकेको बताए । व्यवसायीसँग विगतदेखि रहेका खाली सिलिन्डर एकैपटक भर्न सम्भव नभए पनि आपूर्ति बढेसँगै ती सिलिन्डर क्रमशः भरिँदै जाने उनले बताए ।

सुर्खेतमा झन्डै एक महिनादेखि ग्यास अभाव भएपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो । बैठकले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा ज्येष्ठ नागरिकका लागि १० प्रतिशत ग्यास जगेडा राखेर वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अनावश्यक रूपमा ग्यास भण्डारण नगर्ने र व्यवसायीसँग रहेका खाली सिलिन्डर तत्काल भर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले ग्यास व्यवसायीलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । उनले विगतको तुलनामा ग्यास आपूर्ति थप बढाउनसमेत आग्रह गरेका छन् ।

सुर्खेतका ग्यास व्यवसायीले भने जिल्लामा ४० हजारभन्दा बढी खाली सिलिन्डर रहेको भन्दै ती सबै भर्न निगमसँग माग गरेका छन् । मागअनुसार ग्यास आपूर्ति नहुँदा उपभोक्तालाई वितरण गर्न कठिनाइ भएको भन्दै उनीहरूले वितरण व्यवस्थापनमा सहजीकरण गर्न प्रशासनसँग आग्रह गरेका छन् ।

सम्बन्धित समाचार