सुनसरीमा धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति
1.1k
Shares
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको सबै धर्मका गुरु तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थान तथा सडकमा राखिएका एकल जातीय, धार्मिक तथा साम्प्रदायिक पहिचान झल्काउने झण्डा हटाउने निर्णय गरेको हो।
कप्तानगञ्जमा साउन १० गते डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद र झडप हुँदा तीन जनाको मृत्यु भएको थियो। घटनापछि जिल्लामा साम्प्रदायिक तनाव र मनमुटाव बढेपछि प्रशासनले धार्मिक अगुवाहरूलाई एकै ठाउँमा राखेर सद्भाव कायम गर्ने विषयमा छलफल गरेको हो।
बैठकले सार्वजनिक स्थानमा सर्वसाधारणलाई अवरोध हुने गरी डिजे तथा माइक बजाउन नपाइने निर्णयसमेत गरेको छ। धार्मिक स्थल तथा कार्यक्रममा पनि सरकारले तोकेको ध्वनि मापदण्ड पालना गर्नुपर्ने सहमति भएको छ।
प्रशासनका अनुसार स्वीकृति नलिई सार्वजनिक स्थलमा डिजे वा माइक बजाएर सर्वसाधारणलाई बाधा पुर्याउन पाइने छैन। धार्मिक स्थल तथा कार्यक्रममा प्रवचन, प्रार्थना, भजन वा गीत बजाउँदा पनि निर्धारित ध्वनि मापदण्ड पालना गर्नुपर्नेछ।
सहरी आवास क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबल तथा ग्रामीण क्षेत्रमा दिउँसो ४५ र राति ४० डेसिबलभन्दा बढी ध्वनि निकाल्न नपाइने व्यवस्था कार्यान्वयन गर्ने सहमति भएको छ।
त्यस्तै, साउन १० गतेको घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव कम गर्न आ–आफ्ना समुदायका सदस्यलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह गर्ने निर्णय पनि भएको छ।
प्रशासनले यसअघि साउन २० गते सार्वजनिक अपिल जारी गर्दै सार्वजनिक स्थान तथा सडकमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा–ध्वजापताका हटाउन आग्रह गरेको थियो। सोही अपिलअनुसार मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र निजी घरबाहेक सार्वजनिक स्थानमा राखिएका त्यस्ता झण्डा हटाउन सबै पक्षले सहयोग गर्ने सहमति गरेका छन्।
तीन जनाको मृत्यु
कप्तानगञ्जमा भएको तनावका क्रममा देवानगञ्ज–४ का ओमप्रकाश मेहताको साउन १० गते उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
त्यसैगरी, देवानगञ्ज–३ का ई–रिक्सा चालक जयप्रकाश मेहताको साउन १५ गते विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। गोडामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का रविन्द्रकुमार मेहताको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा साउन १९ गते मृत्यु भएको थियो।
डीजे बजाउने विषयमा सुरु भएको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा अमित यादवसहित अन्य व्यक्तिसमेत घाइते भएका थिए।
मृतक परिवारलाई १० लाख, एक सदस्यलाई रोजगारी
घटनापछि सरकार र पीडित परिवारबीच मृतकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति भइसकेको छ।
कोशी प्रदेश सरकारले पनि मृतकका परिवारलाई थप २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै घटनामा घाइते भएका तथा आगजनीबाट प्रभावित परिवारलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरिएको छ।
धार्मिक अगुवाहरूको आइतबारको बैठकले राहत र क्षतिपूर्तिभन्दा अघि बढेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन धार्मिक समुदायबीच आपसी सम्मान, संवाद र सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
प्रशासन र धर्मगुरुहरूबीच भएको यो सहमतिलाई देवानगञ्ज घटनापछि बढेको साम्प्रदायिक तनाव नियन्त्रण गर्दै जिल्लामा धार्मिक सद्भाव कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।