रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह
1.3k
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको पर्याप्त र सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत संयोजक प्रचण्डले समयमा रासायनिक मल उपलब्ध हुन नसक्दा किसान ठूलो समस्यामा परेको भन्दै तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताएका छन्। उपलब्ध भएको मलसमेत कालोबजारी र बिचौलियाका कारण वास्तविक किसानसम्म पुग्न नसकेको तथा समन्यायिक ढंगले वितरण हुन नसकेको गुनासो व्यापक रूपमा आइरहेको उनको भनाइ छ।
प्रचण्डले रासायनिक मल आयातको प्रक्रिया जटिल हुने भएकाले यसको व्यवस्थापनका लागि समयमै पूर्वतयारी आवश्यक रहेको स्मरण गराएका छन्।
आफू नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरता बुझेर समयमै मल आपूर्ति र वितरणको व्यवस्था गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको उनले उल्लेख गरेका छन्।
उनले मलको समस्या समाधानका लागि तत्काल आयात प्रक्रिया अघि बढाउन, पर्याप्त मौज्दात सुनिश्चित गर्न र आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न सरकारलाई आग्रह गरेका छन्।
त्यसैगरी, कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्ने व्यवस्था मिलाउन पनि उनले सरकारसँग माग गरेका छन्।
प्रचण्डले भनेका छन्, “रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गर्दछु।”