रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण, किसानलाई आलु भण्डारणमा सहज
1.1k
Shares
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु १ करोड ६० लाखको लागतमा शीत भण्डार निर्माण गरिएको हो ।
प्रारम्भमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण पहिलो चरणमा एक सय टन क्षमताको भण्डार निर्माण गरिएको चापाकोट–८ का वडाध्यक्ष टोपलाल न्यौपानेले जानकारी दिए ।
व्यावसायिकरूपमा आलु उत्पादन हुने रत्नपुरमा शीत भण्डार सञ्चालनमा आएपछि स्थानीय किसान उत्साहित भएका छन् । यसअघि उत्पादित आलु भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा तथा पुतलीबजारसम्म लैजानुपर्ने बाध्यता किसानलाई थियो ।
स्थानीयस्तरमै शीत भण्डार निर्माण भएपछि किसानको ढुवानी खर्चसमेत घट्ने भएको छ । यसअघि एक बोरा आलु ती भण्डारण केन्द्रसम्म पुर्याउँदा मात्रै करिब रु ५०० सम्म खर्च हुने गरेको थियो ।
शीत भण्डार सञ्चालनमा आएपछि आलु तत्काल बिक्री गर्नुपर्ने बाध्यता हट्ने र उचित मूल्य पर्खेर बिक्री गर्न सकिने भएकाले किसानले थप लाभ लिन सक्ने अपेक्षा गरिएको छ । साथै, स्थानीयस्तरमा आलु उत्पादनलाई व्यावसायिक बनाउन र किसानलाई कृषि पेशातर्फ थप आकर्षित गर्न पनि यसले सहयोग पुग्ने स्थानीयको विश्वास छ ।