फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा अनिश्चितकालीन रोक

1.3k Shares

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको छ।

माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार अविरल वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक नलगाइएको अध्यक्ष नेम्बाङले बताए।

उनका अनुसार सडक मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहअनुसार मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

वर्षाका कारण सडकको अवस्था बिग्रिएपछि दैनिक आवतजावत गर्ने दर्जनौँ मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जामसमेत हुन थालेको छ। यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन मर्मतसम्भारको काम सम्पन्न नभएसम्म भारी मालवाहक सवारीमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

दमक–चिसापानी सडक निर्माण सुरु भएको करिब तीन दशक बितिसक्दा पनि सडक पूर्ण रूपमा निर्माण हुन सकेको छैन। हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यस सडकबाट यात्रा गर्ने सर्वसाधारणले वर्षौंदेखि समस्या झेल्दै आएका छन्। सडक कालोपत्र हुन नसक्दा वर्षायाममा दमकदेखि चिसोपानीसम्मको यात्रा थप कठिन हुने गरेको छ।

फाल्गुनन्द मार्गले झापा, इलाम र पाँचथरलाई जोड्छ। यी जिल्लाका हजारौँ नागरिकले आवतजावतका साथै कृषि उत्पादन बजारसम्म पुर्‍याउन यही सडक प्रयोग गर्दै आएका छन्।

सडक निर्माणमा लामो समयदेखि भइरहेको ढिलाइप्रति स्थानीयवासी असन्तुष्ट छन्। वर्षायाममा सडक अवरुद्ध हुने तथा यातायात जोखिमपूर्ण बन्ने समस्या दोहोरिँदै आए पनि सडकको स्थायी समाधान हुन नसकेको स्थानीयको गुनासो छ।

 
सम्बन्धित समाचार