पोखरी औँसीका अवसरमा रुरुक्षेत्रमा स्थानीय सार्वजनिक बिदा

1.2k Shares

रेसुङ्गा । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको श्रावण कृष्ण औँसी (पोखरी औँसी) का अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीका अनुसार साउन २७ गते बुधबार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थामा सार्वजनिक बिदा दिइनेछ।

रुरुक्षेत्र गाउँपालिकास्थित पवित्र श्रृङ्गेश्वर तपोभूमि धाममा श्रावण कृष्ण औँसीका दिन परापूर्वकालदेखि पोखरी स्नान, भजनकीर्तनलगायत धार्मिक तथा सांस्कृतिक गतिविधि हुँदै आएका छन्। यस अवसरमा क्षेत्रमा ठूलो धार्मिक मेला समेत लाग्ने गर्दछ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वलाई व्यवस्थित गर्दै रुरुक्षेत्रको धार्मिक पहिचान उजागर तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए।

भदौ १ गतेसम्म ‘मौन पुष्करिणी स्नान महोत्सव’

यसैबीच श्रृङ्गेश्वरधामको धार्मिक महिमा उजागर गर्ने उद्देश्यले ‘दिव्य शृङ्गेश्वर मौन पुष्करिणी स्नान महोत्सव’ आयोजना गरिएको छ। महोत्सव भदौ १ गतेसम्म सञ्चालन हुनेछ।

शृङ्गेश्वर तपोभूमिधाम क्षेत्र संरक्षण तथा व्यवस्थापन समिति, रुरुक्षेत्र–४ का अध्यक्ष चुरामणि ज्ञवालीका अनुसार एक हजार १११ भक्त, १०८ जल तथा १०८ जडीबुटीको संयोजनमा आस्था, आयुर्वेद, मौन र अद्वितीय महादिव्यको अवधारणासहित महोत्सव आयोजना गरिएको हो।

शृङ्गेश्वर तपोभूमि धामका पण्डित उपेन्द्र न्यौपानेका अनुसार महोत्सवमा दैनिक शिव महिमा प्रवचन, मौन तथा पुष्करिणी स्नानको महत्त्व, श्रावणीको महिमा र देवलीला प्रस्तुति भइरहेका छन्। ख्यातिप्राप्त कलाकारबाट भक्तिसङ्गीतसमेत प्रस्तुत भइरहेको उनले जानकारी दिए।

धार्मिक मान्यताअनुसार श्रृङ्गेश्वरधाम त्रेतायुगमा महर्षि शृङ्गले कठोर तपस्या गरेको पवित्र स्थलका रूपमा परिचित छ। मौन पुष्करिणी, प्राकृतिक गुफा तथा कालीगण्डकीसँग जोडिएको धार्मिक आस्थाका साथै ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका कारण श्रृङ्गेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न खोजिएको पण्डित न्यौपानेले बताए।

गाउँपालिकाले स्थानीय बिदा र धार्मिक महोत्सवमार्फत यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै पर्यटक तथा भक्तजनको आगमन बढाउने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार