हुम्लामा बोलेरो जीप दुर्घटना, चालकसहित तीन जना घाइते

897 Shares

रलिङ, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

अदानचुली गाउँपालिका–५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ च १६८५ नम्बरको बोलेरो जीप मंगलबार अदानचुली गाउँपालिका–४ लौठीस्थित बाइकोट उकालोमा दुर्घटनामा परेको हो।

जीपमा पाँच जना सवार रहेकोमा तीन जना घाइते भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो।

दुर्घटनामा अदानचुली गाउँपालिका–५ की २३ वर्षीया बिमला शाही, सोही वडाकी ३५ वर्षीया कालु छत्याल र जीप चालक चंखेली गाउँपालिका–३ का उज्वल बुढा घाइते भएका छन्।

प्रहरीका अनुसार चालक बुढाको खुट्टामा चोट लागेको छ। शाहीको बायाँ हात भाँचिएको छ भने छत्यालको टाउकोमा चोट लागेको छ। घाइते तीनै जनाको अहिले श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप उकालोबाट ओरालोतर्फ झर्ने क्रममा सडकमा नै पल्टिएको थियो। दुर्घटनाका कारण जीपको अगाडिको भाग तथा बायाँतर्फको सिसामा क्षति पुगेको छ।

दुर्घटनाको थप विवरण तथा कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार