नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
पश्चिम चितवनको मेघौलीस्थित हरियाली सामुदायिक वनमा एक पुरुषको शव भेटिएको सूचना प्राप्त भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार शव भेटिएको स्थाननजिकै बाघसमेत रहेकाले हात्तीको प्रयोग गरी बाघलाई सुरक्षित दूरीतर्फ धपाएर शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
मृतकको पहिचान भने खुल्न सकेको छैन। स्थानीयका अनुसार भरतपुर महानगरपालिका–२८, जितपुर निवासी ६१ वर्षीय मगले बोटे सम्पर्कविहीन छन्। उनी सोही सामुदायिक वनमा घाँस काट्न गएको बताइएको छ।
संरक्षणकर्मीहरूले घाँस काट्न वनमा गएका बोटेलाई बाघले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्।
घटनापछि खोजी तथा उद्धारका लागि हात्तीसहितको प्राविधिक टोली परिचालन गरिएको छ। टोलीले बाघको सम्भावित जोखिमबाट मानिसलाई सुरक्षित दूरीमा राख्दै घटनास्थलको पहिचान तथा मृतकको सनाखत गर्ने काम गरिरहेको छ।
घटनाको थप विवरण उद्धार तथा पहिचानको काम सम्पन्न भएपछि मात्रै स्पष्ट हुने जनाइएको छ।