एसियाडका लागि नेपालको १५ सदस्यीय क्रिकेट टोली घोषणा

1.6k Shares

काठमाडौं । जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एसियाड क्रिकेटका लागि १५ सदस्यीय पुरुष टोली घोषणा गरेको हो।

टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

एसियाडमा नेपालको पुरुष क्रिकेट टोलीले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ। उक्त समूहमा नेपालसँगै आयोजक जापान र अफगानिस्तान रहेका छन्।

त्यस्तै, समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन्।

भारत, बङ्गलादेश, श्रीलंका र पाकिस्तान भने सोझै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह चरणका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।

नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनलमा पुगे भारत वा पाकिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ।

यसअघि चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि नेपालले क्वार्टरफाइनलमा स्थान बनाएको थियो। क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल पराजित भएको थियो।

यसपटकको एसियाली खेलकुदअन्तर्गत क्रिकेटका खेलहरू टी–२० ढाँचामा सञ्चालन हुनेछन्।

सम्बन्धित समाचार