काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन तथा सुरक्षा व्यवस्थापनका विषयमा छलफल भएको छ।
कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो।
भेटका क्रममा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापन, निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका तथा सुरक्षा निकाय र आयोगबीचको समन्वयलगायतका विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
महानिरीक्षक कार्कीले नवनियुक्त प्रमुख आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
उहाँले विद्यमान कानुन तथा निर्वाचन आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षासम्बन्धी आफ्नो संगठनले निर्वाह गर्नुपर्ने दायित्वप्रति नेपाल प्रहरी सदैव कटिबद्ध रहने स्पष्ट पार्नुभयो।
निर्वाचनका क्रममा शान्ति–सुरक्षा कायम गर्दै मतदाताले निर्भीक भएर मतदान गर्न सक्ने वातावरण निर्माण गर्नु प्रहरीको प्रमुख जिम्मेवारीमध्ये एक रहेको महानिरीक्षक कार्कीले बताउनुभयो।
यसअघि साउन १४ गते प्रमुख आयुक्त कार्की तथा आयुक्तद्वय वाग्ले र सुब्बाले पदबहाली गर्नुभएको थियो।