दुर्गम क्षेत्रबाट गर्भवतीसहित दुई जनाको हवाई उद्धार

1.6k Shares

काठमाडौं । जटिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उनीहरूको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवाका लागि काठमाडौं ल्याइएको हो।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। स्थानीय स्वास्थ्य संस्थाबाट थप उपचारका लागि तत्काल हवाई उद्धार गर्न चिकित्सकीय सिफारिस भएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।

बस्नेतलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा ल्याइएको छ। हाल उनी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचाररत रहेको जनाइएको छ।

त्यसैगरी, आत्महत्याको प्रयासपछि गम्भीर स्वास्थ्य अवस्थामा रहेका एक युवाको पनि हवाई उद्धार गरिएको छ। सल्ले अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा थप उपचार तथा सघन उपचार आवश्यक देखिएपछि चिकित्सकीय सिफारिसमा हवाई उद्धार गरी काठमाडौं ल्याइएको हो।

उक्त युवालाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले सरकारले हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमले तत्काल उपचार आवश्यक पर्ने अवस्थामा रहेका नागरिकलाई सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको मन्त्रालयको भनाइ छ।

आकस्मिक स्वास्थ्य अवस्थाका कारण ज्यान जोखिममा परेका नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण तथा विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हवाई उद्धार सेवाले प्रभावकारी रूपमा काम गरिरहेको मन्त्रालयले जनाएको छ। दुर्गम भूगोलका नागरिकलाई संकटका बेला राज्यको स्वास्थ्य सेवा र संरक्षणसँग तत्काल जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

सम्बन्धित समाचार