मेसीको दुःखमा रोनाल्डोको साथ, भने– ‘तिमी र तिम्रो परिवारलाई ठूलो साथ छ’

1.9k Shares

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीका पिता होर्खे मेसीको निधनपछि विश्वभरबाट श्रद्धाञ्जली र समवेदना व्यक्त भइरहेका बेला पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले पनि मेसीप्रति भावुक सन्देश दिएका छन्।

मेसीले आफ्ना पिता होर्खेको निधनपछि सामाजिक सञ्जालमार्फत भावुक पोस्ट गरेका थिए। त्यसमा प्रतिक्रिया दिँदै रोनाल्डोले कठिन समयमा मेसी र उनको परिवारप्रति साथ रहेको बताएका छन्।

रोनाल्डोले लेखेका छन्, ‘यो कठिन समयमा तिमी र तिम्रो परिवारलाई ठूलो साथ छ, लियो। धैर्य धारणको कामना गर्दछु।’ होर्खे मेसीको ६८ वर्षको उमेरमा निधन भएको केही दिनपछि मेसीले बुबाको सम्झनामा भावुक सन्देश सार्वजनिक गरेका हुन्। उनले बुबा अब आफूहरूमाझ नरहेको वास्तविकता अझै स्वीकार गर्न नसकेको बताएका छन्।

मेसीले लेखेका छन्, ‘बुबा, तपाईं अब हुनुहुन्न भन्ने कुरा म अझै विश्वास गर्न सकिरहेको छैन। यो वास्तविकता स्वीकार गर्न सकिरहेको छैन। तपाईंविना कसरी अगाडि बढ्ने भन्ने मैले सोच्न सकेको छैन।’

मेसीको दुःखमा रोनाल्डोबाहेक बार्सिलोनाका पूर्वकप्तान कार्लेस पुयोल, सर्जियो रोबर्टो, अर्जेन्टिनाका स्टार एन्जेल डि मारियालगायतले पनि समवेदना व्यक्त गरेका छन्। बार्सिलोनाले पनि आधिकारिक सामाजिक सञ्जालमार्फत मेसी र उनको परिवारप्रति समवेदना जनाएको छ।

मैदानमा वर्षौँदेखि एकअर्काका प्रमुख प्रतिद्वन्द्वीका रूपमा चिनिँदै आएका मेसी र रोनाल्डोबीचको यो संवादले खेलकुदको प्रतिस्पर्धाभन्दा माथि मानवीय संवेदना र सहानुभूतिको पक्षलाई उजागर गरेको छ।

सम्बन्धित समाचार