सिंहदरबारमा खाद्य कम्पनीको बिक्री कक्ष सञ्चालन, मन्त्री यादवद्वारा उद्घाटन

813 Shares

काठमाडौंस्थित सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री कक्ष सञ्चालनमा आएको छ। बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी हुन्।

सिंहदरबार परिसरमै बिक्री कक्ष सञ्चालनमा आएपछि सरकारी कार्यालयका कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ। कम्पनीले बिक्री कक्षमार्फत खाद्यान्नलगायत आवश्यक उपभोग्य वस्तु उपलब्ध गराउने जनाएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री यादवले उपभोक्तालाई गुणस्तरीय वस्तु सहज र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारी व्यापारिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव र अनियमितता नियन्त्रणका लागि आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न स्थानमा आफ्ना बिक्री केन्द्र विस्तार गर्दै आएको छ। सिंहदरबारमा बिक्री कक्ष सञ्चालनले सरकारी कार्यालय क्षेत्रमै आवश्यक खाद्य सामग्रीको सहज उपलब्धता बढाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार