रोल्पा पहिरोमा मृतकको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

1.3k Shares

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परी दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता छन्।

नेपाल प्रहरीका अनुसार पहिरोले स्थानीयका घर तथा गोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो। गम्भीर घाइते भएका दुई जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

पहिरोमा परी थबाङमै मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर छन्।

त्यस्तै, पहिरोले बगाएर छिमेकी जिल्ला प्युठानतर्फ पुगेका अवस्थामा पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा थबाङ–५ का ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीय मनि पुन मगर, ३४ वर्षीया विष्णु भन्ने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर छन्।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

यस्तै, ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

अविरल वर्षाका कारण पहिरो गएको क्षेत्र आसपास थप पहिरोको जोखिमसमेत रहेकाले उद्धार तथा खोजी कार्यमा सावधानी अपनाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार