काठमाडौँ । सरकारले साताको दुई दिन बिदा दिने निर्णय तत्काल पुनरवलोकन गर्ने कुनै गृहकार्य नभएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्पष्ट पार्नुभएको छ।
राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट मन्त्री गौतमले दुई दिन बिदाका कारण विद्यार्थीको विद्यालय जाने समय तथा पाठ्यक्रम समयमै पूरा हुने विषयमा ध्यानाकर्षण भएको भए पनि निर्णय पुनरवलोकनका लागि अहिलेसम्म कुनै तयारी नभएको बताउनुभयो।
उहाँका अनुसार इन्धन आपूर्तिमा देखिएको असहजताबाट उत्पन्न परिस्थितिलाई समाधान गर्न सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेको हो। “तत्काललाई दुई दिनको बिदा पुनरवलोकन गर्ने कुनै गृहकार्य भएको छैन। सरकारले निर्णय गर्ने समयमा यस विषयमा सभाका सदस्यले गराएको ध्यानाकर्षणलाई ध्यान दिइने छ,” मन्त्री गौतमले भन्नुभयो।
उहाँले विद्यार्थीले विद्यालयमा मात्रै सिक्ने अवधारणाबाट बाहिर निस्कनुपर्ने धारणा राख्नुभयो। विद्यार्थीको सिर्जनशीलता विकास हुने स्थान विद्यालय मात्र नभई समाज पनि भएकाले विद्यालय बिदाको दिन सामाजिक गतिविधिमा सहभागी हुँदा उनीहरूको आफ्नै किसिमको वृत्तिविकास हुने उहाँको भनाइ थियो।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले दलित समुदायको हक, अधिकार तथा विकाससम्बन्धी सदनबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयनबारे मन्त्रीको जवाफ माग्नुभएको थियो।
जवाफमा मन्त्री गौतमले मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूचीमा दलित समुदायसँग औपचारिक क्षमायाचना गर्नेसहित विभिन्न सुधारका कार्यक्रम समावेश गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार दलित समुदायको हक अधिकारका विषयमा संवैधानिक, नीतिगत, कानुनी तथा कार्यक्रमिक व्यवस्था समेटेर स्थितिपत्र तयार गरिएको छ।
कानुन आयोगबाट दलितको हक अधिकारसम्बन्धी विधेयकको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पठाइएको र विधायन ऐनअनुसार मस्यौदालाई अन्तिम रूप दिन विज्ञसहितको समिति गठन गरिएको मन्त्री गौतमले बताउनुभयो।
“विधेयकले दलितको हक तथा अधिकारका विषयवस्तु समेट्नेछ,” उहाँले भन्नुभयो।
राष्ट्रिय सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
उक्त प्रस्तावमाथि सभामा छलफल भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भदौ १ गते सोमबार बस्ने गरी स्थगित भएको छ।