वैशाखयता विपद्को वितण्डा, २१५ जनाले गुमाए ज्यान

995 Shares

नेपालमा चालु वर्षको वैशाखदेखि साउन २८ गतेसम्म ४ हजार ६०८ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी २१५ जनाको मृत्यु, १५ जना बेपत्ता र १ हजार ४२२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट यो अवधिमा ५ हजार ६३८ परिवार प्रभावित भएका छन् ।

तथ्यांकअनुसार सबैभन्दा धेरै आगलागीका १ हजार ९० वटा घटना भएका छन् । आगलागीमा २० जनाको मृत्यु र १४६ जना घाइते भएका छन् ।

त्यस्तै, सर्पदंशका ८९२ घटनामा ६३ जनाको मृत्यु भएको छ भने ८३७ जना घाइते भएका छन् । ८६२ वटा पहिरोका घटनामा २४ जनाको मृत्यु, ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन् ।

यस अवधिमा २३७ वटा बाढीसम्बन्धी घटना भएका छन् । बाढीमा परी १८ जनाको मृत्यु, चार जना बेपत्ता र १३ जना घाइते भएका छन् । भारी वर्षाका कारण चार जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी हावाहुरीका ४८० घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् । चट्याङका २३६ घटनामा २५ जनाको मृत्यु र १३२ जना घाइते भएका छन् ।

जनावरको आक्रमणका २५७ घटनामा १८ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् ।

सम्बन्धित समाचार