जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि कर्जाको नयाँ व्यवस्था

1k Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार तथा उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।

अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गरी नयाँ स्वरोजगार उद्यम कर्जा पद्धति समावेश गरिएको छ।

कार्यविधिअनुसार जेनजी आन्दोलनका शहीद परिवार वा घाइते भएको कुरा नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। शहीद परिवार भन्नाले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने व्यवस्था गरिएको छ।

यस्तो सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग तथा स्टार्टअप उद्यम सञ्चालनका लागि प्रयोग गर्न सकिनेछ। सरकारले समय–समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसायका लागि समेत कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

सरकारले आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई आर्थिक रूपमा सबल बनाउने र उनीहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने उद्देश्यले कर्जाको दायरा विस्तार गरेको जनाएको छ। यस व्यवस्थाबाट प्रभावित परिवार तथा घाइतेले व्यवसाय सञ्चालन गरी आयआर्जन तथा रोजगारी सिर्जना गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार