नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

1.5k Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। साउन २६ गतेदेखि सुरु भएको छदिने एक्स्पोमा पाँच दिनमै १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन्।

आयोजकका अनुसार शनिबार मात्रै ४२ हजार अवलोकनकर्ता एक्स्पो पुगेका थिए। पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो। लक्ष्यभन्दा बढी सहभागिता भएपछि आयोजक उत्साहित बनेको छ।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने विभिन्न कम्पनीले हालसम्म ५३ नयाँ मोडल सार्वजनिक गरेका छन्। विशेषगरी विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन अवलोकनकर्ताको आकर्षणमा परेका छन्।

अवलोकनकर्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी र पुनर्बिक्री मूल्य लगायतका विषयमा बढी चासो देखाएका छन्।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ।

सम्बन्धित समाचार