काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउनेदेखि मादक पदार्थ सेवन गरी सवारी चलाउनेसम्मका विभिन्न कसुरमा चालकलाई कारबाही गरेको हो।
कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने ३४ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ५८ जना, रातो बत्ती उल्लंघन गर्ने २७ जना, गलत स्थानमा पार्किङ गर्ने ४८ जना रहेका छन्। त्यस्तै, अवस्था ठीक नभएको सवारी चलाउने १४ जना, अनावश्यक हर्न बजाउने १३ जना तथा जथाभावी यात्रु चढाउने–ओराल्ने ८ जना पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई कारबाहीसँगै सचेतना अभिवृद्धिका लागि कक्षा सञ्चालन गर्दै आएको छ। आइतबार काठमाडौंमा १८, ललितपुरमा ६ र भक्तपुरमा ७ गरी ३१ जनाले सचेतना कक्षा लिएका छन्।
नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघनको विवरण अभिलेख राख्न तथा जरिवाना व्यवस्थापन गर्न ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (TVRS) प्रयोग गर्दै आएको छ। यस प्रणालीमार्फत चालकको कसुर तथा विगतका उल्लंघनको विवरणसमेत व्यवस्थित रूपमा राखिने प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्न चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक संकेत पालना गर्न र सवारी चलाउँदा नियमको पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ।