काठमाडौं । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न गर्न पाउने व्यवस्था छ। नियमअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने हुन्छ।
भदौ १० गते हुने कार्यक्रममा सांसदहरूले सरकारका कामकारबाही तथा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा प्रत्यक्ष प्रश्न राख्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मै उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्नेछ।
प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिवसमक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। यसपटक १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था गरिएको जानकारी सभामुखले दिएका छन्।
यसअघि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित हुन नसकेको भन्दै संसद्मा प्रश्न उठ्दै आएको थियो। नियमावलीमा व्यवस्था भए पनि कार्यक्रम सञ्चालनमा ढिलाइ भएको अवस्थामा सभामुखले भदौ १० गतेका लागि मिति तोकेका हुन्।
यस कार्यक्रमले प्रधानमन्त्रीलाई संसद्प्रति थप जवाफदेही बनाउने तथा सांसदमार्फत जनसरोकारका विषयमा सरकारको धारणा प्रत्यक्ष रूपमा सार्वजनिक गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।