दियालो बङ्गला अवलोकन गर्ने २५ हजारभन्दा बढी, २४ लाख ५८ हजार राजस्व संकलन

1.2k Shares

चितवन । गत आर्थिक वर्षमा चितवनस्थित ऐतिहासिक दियालो बङ्गला २५ हजार ४२५ जनाले अवलोकन गरेका छन् । अवलोकनकर्तामध्ये भारत र चीनका पर्यटकसमेत रहेका छन् ।

भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा १६९ जना ज्येष्ठ नागरिक र एक हजार ५३३ जना विद्यार्थीले दियालो बङ्गलाको भ्रमण गरेका थिए । विसं २०८१ असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गला भरतपुर महानगरपालिका–१ मा अवस्थित छ ।

दियालो बङ्गला अवलोकनका लागि आएका पर्यटकबाट रु २४ लाख ५८ हजार ४०० राजस्व संकलन भएको पण्डितले जानकारी दिनुभयो । संकलित राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने व्यवस्था गरिएको छ ।

दियालो बङ्गला अवलोकन गर्न ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिका लागि रु ५०, स्वदेशी अन्य पर्यटकका लागि रु १०० र विदेशी पर्यटकका लागि रु २०० प्रवेश शुल्क तोकिएको छ । नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा सर्वसाधारणका लागि खुला गरिएको हो ।

राजपरिवारको ऐतिहासिक थलो

दियालो बङ्गलाको ऐतिहासिक महत्वसमेत रहेको छ । जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा लामो समय बिताउने गरेका थिए । सिकारका लागि चितवन आउने क्रममा राजपरिवारले यसै स्थानलाई बसोबासका रूपमा प्रयोग गर्ने गरेको बताइन्छ ।

ऐतिहासिक दरबारको पहिलो तलामा ठूलो बैठक कक्ष रहेको छ । बैठक कक्षका भित्तामा पूर्वराजा महेन्द्र र वीरेन्द्रका तस्वीर राखिएका छन् । दरबारको भर्याङमा विसं २०२६ मा राजा महेन्द्रले सिकारका क्रममा मारेको घडियाल गोही सजाएर राखिएको छ । त्यस्तै, दरबारको भित्तामा बाघको टाउकोसमेत संरक्षण गरेर राखिएको छ ।

दरबारमा पाँचवटा खोपी अर्थात् शयनकक्ष छन् । पहिलो खोपी मुमा रत्नराज्यको, दोस्रो राजा, तेस्रो रानी तथा चौथो र पाँचौँ खोपी राजपरिवारका अन्य सदस्यका लागि प्रयोग हुने गरेका थिए । सबै खोपीमा शौचालयको व्यवस्था रहेको छ ।

राजपरिवारले प्रयोग गरेका विभिन्न सामग्रीसमेत दरबारमा अझै संरक्षण गरेर राखिएका छन् । दरबार परिसरमा महिला सुसारेका लागि ‘नानीगञ्ज’, राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर तथा सवारीसाधन राख्न ग्यारेजसमेत रहेका छन् । केही पर रहेको पौडी पोखरीमा भने अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको भवनमा हाल नेपाल ट्रष्टको एकाइ सञ्चालनमा रहेको छ ।

राजपरिवारले प्रयोग गरेका ऐतिहासिक संरचना अवलोकन गर्न सर्वसाधारणको आकर्षण बढेपछि भरतपुर महानगरपालिकाले नेपाल ट्रष्टसँग समन्वय गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्न पहल गरेको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो । ऐतिहासिक सम्पदाको संरक्षणसँगै सर्वसाधारणलाई अवलोकनको अवसर प्रदान गर्ने उद्देश्यले बङ्गला सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार