संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड माग्दै प्रधानन्यायाधीशको ध्यानाकर्षण

1k Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठन गर्दा निश्चित र पारदर्शी मापदण्ड अपनाउन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको ध्यानाकर्षण गराएको छ।

बारले संवैधानिक इजलासमा न्यायाधीश छनोट गर्दा वरिष्ठताका आधारमा इजलास गठन गर्नुपर्ने वा त्यसमा कठिनाइ भए प्रधानन्यायाधीशबाहेक चार जना न्यायाधीशलाई गोला प्रथाबाट छनोट गर्नुपर्ने सुझाव दिएको छ।

बारका अनुसार पछिल्लो समय निश्चित मापदण्ड, पूर्वपरम्परा वा मुद्दाको विषयवस्तुको गम्भीरताभन्दा पनि मुद्दाको प्रकृतिका आधारमा न्यायाधीश छनोट हुने गरेको देखिएको छ। यस्तो अभ्यासले संवैधानिक इजलासबाट हुने आदेश तथा फैसलाको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने बारको भनाइ छ।

बारले संवैधानिक इजलास गठनसम्बन्धी विषयलाई फुल कोर्टमा छलफल गर्न पनि माग गरेको छ। साथै लामो समयदेखि बस्न नसकेको बार–बेञ्च समन्वय समितिको बैठक तत्काल बोलाउन र न्यायालयमा देखिएका समस्या समाधान गर्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, प्रशासनिक प्रक्रियाबाट कतिपय मुद्दा सिधै संवैधानिक इजलासमा पठाउने गरिएको भन्दै बारले यस्तो अभ्यास रोक्न र निश्चित तथा पारदर्शी प्रक्रिया अपनाउन माग गरेको छ।

यसअघि पनि संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई समावेश नगरेको विषयमा नेपाल बारले प्रश्न उठाएको थियो। पछिल्लो समय इजलास गठन र विचाराधीन मुद्दा संवैधानिक इजलासमा पठाउने प्रक्रियालाई लिएर बारले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामाथि चासो व्यक्त गर्दै आएको छ।

सम्बन्धित समाचार