कर्नाटकलाई ७२ रनमै समेट्दै नेपाल ११६ रनले विजयी

1.1k Shares

काठमाडौं । एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकविरुद्धको पहिलो अभ्यास खेलमा ११६ रनको शानदार जित निकालेको छ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४९ रन बनाए। इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले समान २७ तथा बसिर अहमदले अविजित १९ रन जोडे।

१८९ रनको लक्ष्य पछ्याएको कर्नाटक नेपाली बलरसामु टिक्न सकेन। कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो। उसका लागि शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए।

नेपालका करण केसीले ५ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले पनि समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे। प्रिमियर कपअघि भारतमा भइरहेको अभ्यास खेलले नेपाली टोलीलाई प्रतियोगिताका लागि तयारी गर्ने महत्वपूर्ण अवसर दिएको छ।

सम्बन्धित समाचार