टप एन्ड टी–२० सिरिजमा नेपालले आज एनटी स्ट्राइकसँग खेल्दै

1.4k Shares

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले आज आयोजक टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र एनटी स्ट्राइकबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपालले यसपटक नेपाल ‘ए’ टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाएको छ। टोलीको कप्तानी अनिल शाहले गर्नेछन् भने एनटी स्ट्राइकको नेतृत्व डार्शी शर्टले गर्नेछन्।

एनटी स्ट्राइकमा अस्ट्रेलियाका अनुभवी खेलाडी डार्शी शर्टसँगै बिग बास लिगका खेलाडी जोर्डन सिल्क, टम मेन्जिज र वेस एगरलगायत छन्। गत संस्करणमा खेलेका केही प्रमुख खेलाडी यसपटक पनि टोलीमा छन्।

नेपालले गत संस्करणमा पनि एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ४२ रनले पराजित भएको थियो। यसपटक नेपाल लगातार दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागी भएको हो।

प्रतियोगितामा नेपालले एनटी स्ट्राइकबाहेक बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियासँग पनि खेल्नेछ। फरक शैली र स्तरका टोलीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गर्नेछ।

नेपालको टोलीमा अनिल शाह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

नेपालले अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स, अगस्ट २४ मा होबार्ट हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका छ।

सम्बन्धित समाचार