जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिहीबार साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नलगाड नगरपालिका–१० कै २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् ।
घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । उनीहरूको अवस्थाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक फरार भएका थिए । प्रहरीले खोजतलास गरी उनलाई सोही राति नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ । जिप अनियन्त्रित हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनाको थप विवरण तथा चालकको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो । जाजरकोट–डोल्पा सडकखण्डमा यसअघि पनि सडकको अवस्था तथा सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेका छन् ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।